हामी सधैं कुर्लिने गर्छौं कि हाम्रो गाउँ, देश अविकसित रह्यो। सरकारले देश, गाउँ विकासमा केही गर्न सकेन। हाम्रा नेताहरुले देशलाई खाए, खोक्रो बनाए। तर यसमा दोष कसको? यसमा दोष हामी जनताकै हो। देशका नेता हामी जनतालेनै चुनेर पठाएका हौं। हामीले चुन्ने बेलामा भने, जे पर्ला पर्ला यसलाई नै चुन्छौं भनेर भोट हालेका हौं। हामी कति जना त प्रलोभनमा समेत परेका थियौं होला। प्रलोभनमा पार्न नेताहरुले छरेका चाराहरु त भ्रष्टाचार नगरी कसरी उठ्छ र? जब जरो (जनता) नै कमजोर छ भने रुख (देश) को हाँगो (नेता) कसरी राम्रा हुन्छन्।
नेतालाई गाली गर्ने, गाली गर्दा भएन भने कठालो समाउने अधिकार छ हामीसँग तर हामी पनि कम्तिको भ्रष्ट छैनौं किनकी यदी हाम्रो कोही आफ्ना माथिल्लो पदमा रहेछन् भने कानुन विपरित कयौं काम अह्राउँछौं नि हैन र? हामी सरकारसँग भात माग्छौं, त्यसपछि तरकारी अनि थरिथरिका परिकार र हामी जनता भने तास, क्यारम र गफमा मस्त हुन चाहन्छौं। मागेर मात्र हुँदैन आफुले पनि देशलाई पसिना दिन सक्नुपर्छ।
जनताको परिश्रम र पसिना भने विदेशियको छ। रेमिट्यान्स भित्रिएको छ भनी मख्ख पर्छौ। गाउँ छाडी सदरमुकाम वा शहरमा बस्ती बसाउन थाल्छौं। गाउँमा को बस्छ? छोराछोरीले पैसा पठाएका छन् भनी गजक्क परेर अनुत्पादक क्षेत्रमा (जस्तैः भवन निर्माण) लगानी गर्छौ भने उता खेत बाँझै। के पछि बाँझो खेतमा बसी पलेटी मारेर पैसा खाने हो र? यही रितमा जाने हो भने आज छोरो विदेशियो, भोली नाति विदेशिन्छ र पर्सि पनाति पनि विदेशिनु पर्ने वाध्यता स्वत पर्छ। अहिले हामीले अवलोकन गर्ने हो भने धेरै जसोका परिवारको कोही न कोही विदेशियका छन्। विदेश जाँदा नेपालीहरु नेपाललाई गाली गर्ने गर्छन्- “सबै चोर–फटाहा छन्, यस्तो देशमा को बस्छ”। तिनै चोर फटाहाहरुलाई देश सुम्पिए पछि देश कसरी सप्रिन्छ? आफू राम्रो भए आफैंले नै देशको जिम्मा लिन सकिन्छ नि हैन र? विदेशिनुबाट बचेकुचेका जो छन् ति पनि नेतागिरी गर्छन्, कार्यकर्ताको निहुँमा गुन्डागर्दी गर्छन्। वेरोजगारीको अलख जगाई देशले केही गरेन, सरकारले केही गरेन भन्छौं तर आफु पाईला चाल्ने प्रयास कहिल्यै गर्दैनौं। देशको युवाशक्ति कि त विदेशीयको छ कि त कुर्सिमा बसेका नेताहरुका नाजायज उद्देश्यप्राप्तीका लागि जायज माग राखेर आन्दोलनमा उत्रिएको छ। अरुलाई धेरै सल्लाह दिन्छ तर आफु केही गर्न जान्दैनन् र खोज्दैनन्।
काम ठुलो सानो हुँदैन - हामी सबै भन्छौं। तर के हामीले व्यवहारमा उतारेका छौं त? मजदुरी गर्ने व्यक्तिलाई निच व्यवहार देखाउँने परम्परा र परिपाटिले गर्दा हातमा डिग्री लिएर बसेको एक युवा आफैं जस्तो शिक्षित व्यक्तिको नराम्रो व्यवहारका कारण मजदुर हुन हिचकिचाउँछ। यो हामीले देखेका छौं। भोगेका पनि छौं। एउटा व्यक्ति भारी वोकेर गुजारा गर्छ भने उसलाई उसको साहुले ‘तपाई’ भनेर संवोधन गर्दैन ‘तँ’ नै भनेर बोलाउँछ चाहे त्यो भरिया आफ्नै बाबुको उमेरको किन नहोस्। ज्यामी, मिष्त्री, मजदुर, भरियाको माग बडेको बढ्यै छ तर देशमा हामी ती काम गर्न चाहन्नौ। कारणहरु हुन् - साहुहरुको व्यवहार, कामलाई सानो भनिदिने शिक्षित व्यक्ति र हाम्रो मानसिकता।
देश व्यक्ति, समूह र समाजको एकिकृत रुप हो। व्यक्ति र समाजले देशलाई दिएको पसिना र करबाट नै देशले सेवा, सुविधा र सुरक्षा जनतालाई दिने गर्छ। अहिले धेरै युवायुवतीहरु कुलत, गुण्डागर्दी, दुर्वेशनी, व्यश्यावृत्तिमा नै जीवन खेर फालिरहेका छन्। म र मेरो भन्दा माथी उठेर देश, जनता र भावि पिडीको बारेमा पनि विचार गरौं। मनले मात्र हैन दिमागले पनि सोचेर एक जुट हौं। अब खुट्टा तान्न छोडौं र प्रतिज्ञा गरौं - "म केही असल गर्छु"।
No comments:
Post a Comment